vada
News

पारिश्रमिक घटाउन तयार कलाकारहरू

काठमाडौँ। लकडाउनका कारण चलचित्र क्षेत्र धराशायी भएको भन्दै अब कलाकारले पारिश्रमिक कटौती गरेर चलचित्र निर्माणको बाटोलाई सहज बनाउनुपर्ने टिप्पणी हुँदै आएको छ। कलाकार र प्राविधिकहरूको पारिश्रमिकमै बजेट सकिएपछि चलचित्र निर्माणमा समस्या हुन थालेको निर्माताहरूले बताउँदै आएका छन्। साथै निर्माताले महँगो बजेटमा चलचित्र बनाएर जोखिम मोल्न सक्ने अवस्था पनि देखिँदैन। यसै क्रममा केही कलाकारहरूले आफूहरू पारिश्रमिक घटाउन तयार रहेको बताएका छन्।

पल शाह
अभिनेता पल शाहले लकडाउनपछि काम गरिरहेका म्युजिक भिडियोमा पारिश्रमिक घटाए। करिब २५ प्रतिशत पारिश्रमिक घटाएका पलले चलचित्रमा पनि आफू पारिश्रमिक घटाउन तयार भएको बताएका छन्। तर, आफू एक जनाले मात्र पारिश्रमिक घटाएर नहुने उनको तर्क छ। पलले भने–‘म एकजनाले मात्र पारिश्रमिक घटाएर हुँदैन। टिमसँग आवद्ध सबैले यो विषयमा सोच्नुपर्छ।’ पल नेपाली चलचित्रमा राम्रो पारिश्रमिक लिने नायकको रुपमा चिनिन्छन्।

दयाहाङ राइ
अभिनेता दयाहाङ राईले पनि केही दिन अगाडि आफूले पारिश्रमिक घटाउने बताएका थिए। नायक राईले आफू पारिश्रमिक घटाउन तयार भएपनि चलचित्र निर्माणको उद्देश्यमा निर्माता स्पष्ट हुनुपर्ने बताएका थिए। उनले, चलचित्र क्षेत्रलाई फाइदा हुने उद्देश्यले चलचित्र निर्माण हुन लागेको हो भने आफू पारिश्रमिक घटाउन तयार रहेको बताए।

पूजा शर्मा
नायिका पूजा शर्माले पनि चलचित्रसँग आवद्ध सबैको पारिश्रमिक घटे आफू पनि घटाउन तयार हुने बताइन्। उनले भनिन्–‘म एकजनाले मात्र पारिश्रमिक घटाएर हुँदैन। चलचित्रसँग आवद्ध सबैले पारिश्रमिक घटाएर काम गर्न तयार हुन्छन् भने म पनि तयार छु।’ पूजा नेपाली चलचित्रमा सर्वाधिक पारिश्रमिक लिने नायिका हुन्।

स्वस्तिमा खड्का
नायिका स्वस्तिमा खड्का पनि पारिश्रमिक घटाउने विषयमा सहमत भएकी छिन्। केही दिन अगाडि उनले मिडिया कुराकानीमा भनेकी थिइन्–‘मैले पारिश्रमिक घटाउँदा प्राविधिकहरूलाई सहज हुन्छ भने म यसका लागि तयार छु। तर, म एकजनाले मात्र पारिश्रमिक कम गरेर हुँदैन। चलचित्रमा काम गर्दा मलाई पहिले दिए जत्ति नै पारिश्रमिक दिनुपर्छ भनेर म बार्गेनिङ गर्दिनँ।’

Related Articles

Back to top button