vada
International

६ फरक–फरक किसिमका कोरोनाभाइरस रोग पत्ता लागे, कुन संक्रमण कति खतरनाक ?

काठमाडौं। वैज्ञानिकहरुले विभिन्न लक्षणहरुका आधारमा ६ फरक–फरक किसिमका कोरोनाभाइरस रोगका बारेमा पत्ता लगाएका छन् । सबै ६ किसिमका कोरोना संक्रमणका केसहरुमा टाउको दुख्ने र गन्ध थाहा पाउने क्षमता घट्ने लक्षण साझा पाइएका छन् । वैज्ञानिकहरुले आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरको माध्यमले सयौं केसहरुको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।

लण्डनको किंग्स कलेजका वैज्ञानिकहरुका अनुसार पहिलो किसिमको कोरोना संक्रमणको केसमा भन्दा छैटौं किसिमको संक्रमणको केसमा बिरामीलाई सास फेर्नको लागि कृत्रिम प्रणालीको आवश्यकता पर्ने खतरा १० गुणा बढी हुन्छ । वैज्ञानिकहरुको यो नयाँ खोजपछि अब कोरोना संक्रमणको केसमा सबैभन्दा धेरै खतरामा रहेका बिरामीको पहिचान छिटो हुन सक्नेछ ।

अनुसन्धानका लागि वैज्ञानिकहरुले अमेरिका र बेलायतका १ हजार ६ सय कोरोना संक्रमित बिरामीको तथ्यांकको विश्लेषण गरेका थिए । किंग्स कलेजका क्लेयर स्टिभ्सका अनुसार बिरामी भएको पाँचौं दिनसम्म बिरामी ६ मध्ये कुन वर्गको संक्रमित हो भन्ने थाहा भएमा समय छँदै राम्रोसँग उपचार गर्न सकिनेछ ।

अनुसन्धानको निष्कर्षअनुसार सबैभन्दा कम खतरनाक किसिमको बिरामीमा फ्लू जस्तो लक्षण देखिन्छन् साथमा ज्वरोको लक्षण पनि देखिन पनि सक्छ र नदेखिन पनि सक्छ । दोस्रो किसिमको बिरामीमा फ्लुजस्तो लक्षणसँगै ज्वरो पनि देखिन्छ । तेस्रो किसिमको संक्रमणमा डायरियाको पनि लक्षण देखिन्छ । चौथो, पाँचौं र छैटौं प्रकारको केसमा थकावट, कन्फ्युजन, सास फेर्न समस्या जस्ता लक्षण सबैभन्दा धेरै देखिन्छन् ।

अनुसन्धानमा पत्ता लागेअनुसार पहिलो प्रकारको संक्रमणमा १.५ प्रतिशत बिरामी, दोस्रो संक्रमणमा, ४.४ प्रतिशत, तेस्रो प्रकारमा ३.३ प्रतिशत बिरामीलाई सास फेर्न कृत्रिम सहायता दिनुपर्ने आवश्यकता हुन्छ । चौथो, पाँचौं र छैटौं प्रकारमा सास फेर्न सहायता दिनुपर्ने बिरामीको प्रतिशत ८.६, ९.९ र १९.८ देखिएको छ । छैटौं प्रकारको संक्रमणमा ५० प्रतिशत बिरामी अस्पताल भर्ना हुनु परेको थियो । पहिलो प्रकारमा भने केवल १६ प्रतिशत बिरामी अस्पताल भर्ना हुनु परेको थियो ।dcnepal

Related Articles

Back to top button